सर्लाही,पुस १८ । सर्लाहीको हरिवन स्थित इन्दु शंकर चिनी उद्योगले उखु ल्याउन चलान पुर्जी वितरण सुरु गरेपछि किसानहरु धमाधम उखु काट्न सुरु गरेका छन ।
गत सालको तुलनामा यस वर्ष अली चाडैनै उखु कटानकोलागि किसानहरुलाई चलान पुर्जी वितरण सुरु गरिएको उखु प्रबन्धक योग नारायण रजकले बताउनु भयो। मिलले मंसिरमानै डोंगा पुजा गरेर उद्योग संचालनको लागि सम्पूर्ण तयारी पूरा गरेको रजकले बताउनुभयो । उखु प्रबन्धक रजकका अनुसार चालु सिजनमा करिब ४८ लाख क्विन्टल उखु उत्पादन गरिएको भएपनि ३५ लाख क्विन्टल कटान गर्ने लक्ष्य राखिएको छ । गत वर्ष माघ १ गतेदेखि क्रसिङ सुरु गरि चैत्र १५ गते सम्ममा उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो ।
किसानहरुसंग सहमती गरि गत वर्षकै मुल्यमा उखु कटान सुरु गर्ने सहमती गरेको उद्योगले जानकारी गराएको छ ।उद्योगले चालु सिजनका लागि उखुको मुल्य ४ सय ७१ रुपैँयाँ २८ पैसा तोक्दै सरकारको अनुुदान बापत किसानलाई ६५ रुपैँया २८ पैसा पैसा उपलब्ध गराउने निर्णय गरेको छ । तर यसअघि उद्योगीहरुले चिनीको मुल्य अत्यन्त कम भएकोले किसानलाई उक्त मुल्य दिन नसकिने भन्दै उद्योग संचालन गर्न आलटाल गर्दै आएका थिए ।पुस ६ गते उखु किसानका प्रतिनिधि र उद्योगका प्रतिनिधि बीच बसेर छलफल भएपछि उद्योगले चलान पुर्जी वितरण गर्न सुरु गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनु भयो ।
यस वर्ष सर्लाही जिल्लामा करिब १७ हजार हेक्टरमा उखु खेती लगाईएको छ । सर्लाही जिल्ला नेपालकै सबै भन्दा बढी उखु उत्पादन हुने जिल्लाको रुपमा रहेको छ । सर्लाहीको उखु छिमेकी जिल्ला महोत्तरी र रौतहटका चिनी उद्योगहरुमा समेत क्रसिङकालागि लाने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here