प्रीति रमण– देशमा पटक–पटक व्यवस्था फेरिए पनि व्यवहार र सामाजिक सोच फेरिएको छैन ।

त्यसैको पछिल्लो उदाहरण हो, आजभोलि सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्बिर, जहाँ टाउको नै पुरिने गरी नेतालाई माला लगाइएको देख्न सकिन्छ । यो एउटा प्रतिनिधि उदाहरण मात्र हो, नेताहरूलाई टाउको नै छोपिने गरी माला लगाएर स्वागत गरिने र रातो कार्पेट ओच्छ्याउने चलन पहिलेदेखि नै छ । यसले जतिसुकै व्यवस्था फेरिए पनि हाम्रो समाजको सोच नागरिक हैन रैतिकै हैसियतमा कायम रहेको स्पष्ट पार्छ ।

मुलुकमा राजतन्त्रात्मक व्यवस्था हुँदा राजालाई शोषक र सामन्तीको रूपमा चित्रण गरिएको थियो । जनता दास र रैतिको हैसियतमा रहेको भन्दै यो व्यवस्था नहटाएसम्म मुुलुकको विकास कदापि नहुने डंका पनि पिटिएकै हो । सर्वहारावर्गले सधै शोषण, अन्याय, अत्याचार सहनुपरेको र सामन्ती र पुँजीपति वर्गले शासनसत्तामा कब्जा जमाएको भनी युद्ध र आन्दोलनसमेत भएको कसैले बिर्सिएको छैन । तर, नयाँ व्यवस्था ल्याएपछि आन्दोलनको अगुवा गर्नेहरू नै नवसामन्तको रूपमा उदाएका छन् ।

मुलुकमा अहिले कम्युनिष्ट पार्टीको सरकार छ । बहुमत हासिल गरेको उक्त पार्टीको सरकार इतिहासकै शक्तिशाली पनि छ । तर, नाममा कम्युनिष्ट बाहेक व्यवहारमा कतै पनि कम्युनिष्ट सरकारको अर्थात् जनपक्षीय काम गरेको सरकार भनेर महसुस गर्ने ठाउँ छैन । बरु दलाल पुँजीपतिवर्गको हितमा सरकारले काम गर्दै आएको छ । सोही कारण सरकार गठन भएको करिब २ वर्ष पुग्न लागे पनि जनताले विगतका सरकारभन्दा यो सरकार कुनै तात्विक रूपमा भिन्न भएको महसुस गर्न सकेका छैनन् ।

देशमा अहिले पनि विकास निर्माणका काम सुस्त छन् । जनताको दैनिकी अझै कष्टकर छ । भ्रष्टाचार निर्मूल हुन सकेको छैन भने बेरोजगारीका कारण युवाशक्ति विदेश पलायन हुँदै आएको छ । शिक्षा, स्वास्थ्य र बैंक तथा वित्तीय क्षेत्रमा लूट कायमै छ । दण्डहीनता मौलाएको छ, आपराधिक गतिविधि बढेको छ । गलत काम गर्नेहरूलाई सजाय हुन सकिरहेको छैन । मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक छ । विदेशबाट विप्रेषण आउन बन्द हुने हो भने अहिलेको आर्थिक वृद्धि अत्यन्त न्यून हुने विश्लेषकहरूले नै जनाउँदै आएका छन् । किसानहरूले ऊखुको मूल्य माग गर्दै राजधानी धाउनुपर्ने अवस्था सृजना भएको छ । लुटेरा व्यापारीहरू जताततै लूट मच्चाइरहेका छन् । मुलुकको यस्तो दुर्दशाको अवस्थामा पनि नेता तथा मन्त्रीहरू भने निकै ठूलो काम गरेको जसरी सम्मानित गरिदै आएका छन् । देश र जनताको पक्षमा नगर्दा पनि जनतालाई आफ्नो स्वागतमा घिसार्ने नेताहरूले देशलाई कहाँ पु¥याउने हुन् अनुमान गर्न सकिन्छ । मानौं देशका समस्याहरू निराकरण गरी आर्थिक अवस्थामा ठूलो छलाङ मारे जसरी नेताहरूको गलाले थाम्नै नसक्ने गरी माला लगाइदिएर स्वागत गरिँदै छ ।

किन केही काम नगरे पनि नेताहरू सम्मानित हुँदै आएका छन् त ? किन गलत काम गर्ने वा असक्षम नेताको पनि समाजले वाहवाही गरिरहेको छ त ? यसमा पहिलो कारण नेपाली समाजमा राजनीतिको अनावश्यक हस्तक्षेप हो भन्न सकिन्छ । अहिले नेपालको शिक्षा, कृषि, पत्रकार, वकिल, चिकित्सक, कर्मचारी, विद्यार्थी, मजदूरदेखि हरेक पेशा र व्यवसायसम्ममा पार्टीगत संघसंगठन बनेका छन् । यस्ता संघ÷संगठनमा लाग्नेले नै राम्रा अवसरहरू पाउँदै आएका छन् भने योग्य व्यक्तिहरू पार्टी र नेताको चाकडी नगर्दा पछि पर्न थालेका छन् । तिनै निश्चित व्यक्तिको झुण्डले नै नेताहरूलाई फूलमाला लगाएर वा रातो कार्पेट ओच्छ्याएर भक्तिभाव प्रदर्शन गरिरहेको देखिन्छ ।

अर्को कारण हो, हाम्रो सोचमा कुनै परिवर्तन नआउनु । मुलुकमा लोकतन्त्रात्मक व्यवस्था भए पनि अझै पनि नेताको पछि नलागी कुनै काम हुँदैन भन्ने मानसिकतामा अझै परिवर्तन आउन सकेको छैन । यसमा सरकारको नेतृत्वमा पुग्नेहरूको पनि उत्तिकै दोष छ । हिजो जुन सर्वहाराको नारा र एजेन्डा बोकेर आन्दोलनको बलमा सत्तामा पुगे, तिनै आज रातारात परिवर्तित भएका छन् । उनीहरू नै नवसामन्तको रूपमा उदाउँदा मुलुकमा अझै पनि शोषक सामन्तीको संख्या घटेको छैन । धनी र गरिब वर्गबीचको खाडल अझै पनि कायम नै छ ।

यही प्रवृत्तिका कारण नेताहरूमा ‘म त ठूलो मान्छे हुँ, यी जनतालाई जे भन्दिए पनि हुन्छ, जस्तो आश्वासन दिए पनि हुन्छ’ भन्ने मानसिकता विकसित भएको छ । त्यही कारणले ठूलाठूला आश्वासनका पोका वितरण गर्न नेता व्यस्त छन्, तिनै आश्वासनलाई विश्वास गरेर अब त केही होला भन्ने जनताले आश गर्दै आएका छन् । हिजो शासनसत्तामा यिनै भएर केही काम नगरी असक्षम साबित भए पनि आज भोट माग्दा यिनैलाई दिने चलन चलेको छ । यस्तो प्रवृत्ति र सोच समाजका लागि घातक हो । यो सामन्तवादी सोच हो । जबसम्म यही मार्ग अनुशरण गरिन्छ, तबसम्म देशको विकास फगत कल्पनामा मात्र सीमित हुने निश्चित छ । – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here