प्रीति रमण-विदेशी सहयोग बिना नेपालको विकास हुनै सक्दैन भन्नेहरूलाई जवाफ दिनेगरी प्रतिनिधिसभामा सांसदहरूले जनतालाई करोडपति बनाउने विकल्प देखाउदै गाँजाखेतीमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आवाज उठाएका छन् ।

नेपालमा गाँजाखेती खुला गर्नुपर्नेबारे फेरि विभिन्न कोणबाट बहस सुरु भएको छ । संघीय संसद्देखि सार्वजनिक कार्यक्रममा पनि गाँजाखेतीबाट नेपालीहरूले लिन सक्ने लाभबारे छलफल सुरु हुनु सुखद पक्ष हो । गत वर्षको फागुनमा प्रतिनिधिसभाको बैठकमा सत्तासीन नेकपाका सांसद विरोध खतिवडाले नेपालमा गाँजाखेती खुला गर्नुपर्ने सुझाव राखेका थिए । उनले पूर्वीय सभ्यतामा पूर्खौंदेखि औषधि र तरकारी र अचारका रूपमा गाँजा र भाङ प्रयोग हुँदै आएको चर्चा गर्दै वर्तमान समयमा अन्य देशले झै नेपालमा पनि वैधानिक रूपमा गाँजाखेती गर्नुपर्नेमा जोड दिएका थिए । केही दिनअघि बाग्मती प्रदेशका सांसद् तथा सत्तासीन नेकपाका नेता केशव स्थापितले पनि गाँजाखेती नेपाली भूभाग अर्थात हावा, पानी र माटो सुहाउँदो भएको बताउँदै यो खेतीबाट नेपालीले राम्रो आम्दानी गर्नसक्ने औंल्याएका थिए । त्यसैले पनि नेपालले गाँजाखेती खुला गर्नुपर्ने उनको तर्क थियो ।

अहिले विश्वका थुप्रै देशले गाँजा खेती तथा निश्चित मात्रामा प्रयोगलाई वैधानिकता दिँदै आएका छन् । नेपालमा भने परापूर्वकालदेखि नै गाँजाको खेती प्रयोग हुँदै आएको थियो । गाँजालाई विभिन्न रोग निदानका लागि पनि औषधिको रूपमा प्रयोग गर्ने चलन नेपालमा परम्परागत रूपमा रहीआएको छ । तर, पश्चिमा मुलुकको  विशेष दबाबले नेपालमा यसको खेती रोकिएको देखिन्छ ।

विगतमा नेपालको तराई–मधेशका जिल्लामा गाँजाखेती हुँदै आएको थियो । तराईका बारा, पर्सा, रौतहट, सिरहा, धनुषा र महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुने गरेको थियो । गाँजा नगदे बालीका रूपमा सबैभन्दा भरपर्दो स्रोत रहेको थियो । नेपालको अर्थ व्यवस्थालाई कायापलट गराउन सक्ने गाँजा खेतीमा प्रतिबन्ध लगाइयो । दोस्रो विश्वयुद्धबाट विरक्तिएका अमेरिकी तथा पश्चिमाहरू नेपालमा गाँजा खान  आउने गरेको इतिहास छ, उनीहरूलाई ‘हिप्पी’ भन्ने गरिन्थ्यो । यसले नेपालमा पर्यटकहरूको पनि वृद्धि गराएको थियो । थाइल्याण्डमा वेश्यावृतिका लागि पर्यटकहरूलाई आकर्षण गरिएजस्तै मदिरा उत्पादन गर्ने देशहरू पनि पर्यटकहरूका आकर्षक केन्द्र बनेका पाइन्छन् । नेपालमा गाँजाको बढ्दो व्यापारसँगै तत्कालीन सरकारले सन् १९६१ मा लागूऔषध ऐन जारी गरको थियो । त्यसको अर्को वर्ष उत्पादन, बिक्री तथा आयात र निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनाइएको थियो ।

तर, राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेच सन् १९७३ जुलाई १६ देखि प्रतिबन्ध लगायो । अमेरिकी नागरिक गाँजा सेवन गरी यतै बस्न थालेपछि अमेरिकाको चिन्ता बढाएको थियो । अमेरिकी दबाबकै कारण नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने गाँजा लागूऔषधको दर्जामा राखी खेती र कारोबार नै बन्द गर्न लगाइयो ।

नेपालमा लागूऔषध नियन्त्रण ऐन २०३३ ले गाँजा खेती निषेध गरेको छ । ऐनले गाँजासहित भाङ, गाँजा मूलका जुनसुकै बोट, पात, फूलका साथै बोटबाट आउने चोप, खोटो र चरेसलाई लागुऔषध किटान गरेको छ । यी चिज मिसाएर बनाइने औषधि पनि लागूऔषधकै श्रेणीमा पर्छन् । आन्तरिक ऐनसँगै नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय महासन्धिले पनि गाँजा खेती गर्न रोक लगाएको छ । तर गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । धेरै देशमा यसको प्रयोग वैधानिक भइसकेको छ । मदिरा र आणविक भट्टीहरूले पु¥याउने जस्तो क्षति गाँजाले गर्न सक्दैन भन्ने कुरा पुष्टि भइसकेको छ ।

गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोगहरूको उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।

अमेरिकी स्वार्थमा नेपालमा गाँजा बन्द भए पनि यसको बहुउपयोगिताका कारण अन्य देशले भने खेती र प्रयोग खुला गर्ने क्रम बढिरहेको छ । स्वयं अमेरिका, क्यानाडासहित केही युरोपेली मुलुकमा गाँजाको वैधानिक प्रयोग खुला भएको छ । उरुग्वे पहिलो देश हो, जसले गाँजा सेवनलाई कानुनी मान्यता दियो । नेदरल्यान्ड्स, स्पेन, दक्षिण अफ्रिका र कोलम्बियाजस्ता देशले उरुग्वेलाई पछ्याएका छन् । अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी र इजरायल लगायत देशहरूमा यसको औषधि प्रयोग गर्न छुट छ ।

तर, पराम्परगत रूपमा नेपालमा खेती र प्रयोग हुँदै आएको गाँजालाई यहाँ प्रतिबन्ध किन गरियो ? अमेरिकी दबाबमा हामीले गाँजाखेती बन्द गर्नुपरेको थियो । औषधि गुण भएको गाँजा खेती गरेर हामीले बेच्न पाइरहेका छैनौं, तर मान्छे मार्न प्रयोग हुने हतियार तथा आणविक पदार्थको व्यापार अमेरिकाले गर्न पाउनु कसरी न्यायोचित हो ? नेपालमै उत्पादन हुने घरेलु रक्सी बेच्न नपाउने तर विदेशी रक्सी जति पनि आयात गरेर बेचे हुने ? नेपाल सरकारको यस्तो नीति नेपालीको हितमा कसरी भयो ? यसबारे पक्कै पनि सरकार र सम्बन्धित निकायले सोच्न जरुरी छ । नेपालकै घरेलु उत्पादनलाई प्रोत्साहन गरे मात्र नेपाली जनताको आर्थिक स्तर वृद्धि हुनेछ र  नेपाल समृद्ध बन्न सक्नेछ  । नेपालको भूभाग गाँजा खेतीका लागि उर्बर मानिन्छ, यसको औषधीय गुण पनि छ, विश्व बजारमा बिक्री हुन्छ भने किन अन्य देशले झैं वैधानिकताका बुँदामा टेकेर नेपालले गाँजाखेती खुला नगर्ने ? – जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here