काठमाडौँ – सरकारले भोलि बिहान ६ बजेदेखि मुलुक लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज साँझ बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिनुभयो ।

लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन् भने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

सरकारले एक हप्तासम्म घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाउँदै अवज्ञा गरे कारबाहीको चेतावनी दिएको छ । ७७ वटै जिल्लामा लागू हुने उक्त निर्देशनको अवज्ञा गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उपप्रधानमन्त्री एवं समितिका संयोजक ईश्वर पोखरेलले चेतावनी दिनुभयो । संक्रामक रोग ऐन २०२० अनुसार कुनै व्यक्तिले रोग फैलिएको अवस्थामा सरकारले जारी गरेको निर्देशनको अवज्ञा गरेमा एक महिनासम्म कैद वा सय रुपैयाँ जरिवाना हुने उल्लेख छ।

अध्ययनका लागि फ्रान्समा रहेर हालै स्वदेश फर्केकी काठमाडौँकी एक १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको भोलिपल्ट सरकारले मुलुक लकडाउन गर्ने निर्णय गरेको हो ।

फ्रान्सबाट फर्केकी युवतीमा कोरोना भाइरसको संक्तमण देखिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई पुगेको छ । यसअघि चीनबाट फर्केका एक युवामा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी अहिले उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गत चैत चार गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि आइतबार राति मात्रै भएको जानकारी दिनुभयो ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएका ती युवतीको टेकु अस्पतालमा परीक्षण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’ मा बसेकी थिइन् । तर कोरोना भाइरसको संक्रमणको आशंका लागेपछि उनी परीक्षणका लागि टेकु अस्पताल आएकी थिइन् । कोरोना पुष्टि भएपछि संक्रमित युवतीलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ । ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको र उनीसँगै विमानमा आएकाहरुलाई खोजेर व्यवस्थित गर्ने प्रक्रिया सुरु भएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

स्वास्थ्यमन्त्री ढकालले कोरोनाविरुद्ध सरकारको लडाईँमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । उहाँले विश्वलाई नै हायलकायल बनाइरहेको कोरोना भाइरससँग एकतावद्ध भएर लड्ने बेला आएको बताउनुभयो । मन्त्री ढकालले विदेशबाट आएका सम्पूर्ण नागरिकलाई कम्तीमा १४ दिन घरमै सेल्फ क्यारेन्टाइनमा बस्न आग्रह गर्नुभयो । मन्त्री ढकालले राज्यको कुनै पनि क्षेत्रमा नागरिकलाई कोरोना भाइरसको लक्षण देखिएमा राज्यले विशेष उपचारको व्यवस्थापन गर्ने बताउनुभयो ।

काठमाडौँमा कोरोना भाइरसको संक्रमणका बिरामी फेला परेपछि जनजीवन त्रसित बनेको छ । आज दिउँसैदेखि बजार क्षेत्रको चलहपहल निकै घटेको थिया । सडकमा सवारीका साधन न्यून मात्रामा चलेका देखिन्थे भने पैदल यात्रुको संख्या पनि थोरै थियो । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिने उदेश्यका साथ भोलिदेखि मुलुक लकडाउनको निर्णय लिएको हो । कोरोना भाइरसको संक्रमण रोक्न विभिन्न जिल्लामा स्थानीय प्रशासनले यसअघि नै कर्फ्यू आदेश जारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here