प्रीति रमण, प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीको अवसरमा राम जन्मभूमि बारेमा दिनुभएको अभिव्यक्तिले नेपाल र भारतलाई तरंगित बनाई दिएको छ । झण्डै २५ वर्षसम्म चर्काे विवादपछि हिन्दुहरुको पक्षमा राम मन्दिर निर्माणको चरणमा भारत सरकार प्रवेश गरि रहेका बेला राम जन्मभूमिकै बारेमा नेपालका तर्पmबाट विवाद श्रृजना गरिएपछि भारतका हिन्दूवादी नेताहरु आक्रोशित बन्न पुगेका छन् ।

ओलीको अभिव्यक्ति धेरैका लागि अकल्पनीय किसिमको थियो । उनले तथ्य र प्रमाणका आधारमा बोलेका हुन् वा अल्पज्ञानका आधारमा यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने बारे नेपालमा पनि चर्चा शुरु भएको छ । आखिर कसरी आयो त प्रधानमन्त्रीमा एकाएक आयोध्या नेपालमै छ भन्ने ज्ञान ? यो विषय छलफल विषय बनेको छ ।

भारत र नेपाल हिन्दू धर्म मान्नेहरुको बाहुल्यता भएका देशहरु हुन् । दुवै देशको सम्बन्धमा धर्म पनि विशेष रुपमा जोडिएको छ । त्यसैले यस्तो विषयमा बोल्नु भन्दा पहिले गम्भीररुपमा सोच्नु जरुरी हुन्छ । प्रधानमन्त्री ओलीले यो विषय पहिलोपटक सार्वजनिक गर्नु भएको भने होइन । विभिन्न माध्यमबाट यस विषयमा प्रचार अभियान पहिले देखि नै हुँदै आएको थियो तर प्रधानमन्त्री ओलीले अहिलेको समयलाई नै यो विषय उठान गर्नुपर्ने अवशरका रुपमा किन लिनु भयो भन्ने बारेमा पनि बहस चलेको छ । यसमा एउटा समूहले अभियानकै रुपमा काम गरिरहेको थियो । त्यो समूह भारतमा रहेको अयोध्यालाई नक्कली सावित गरेर चितवनको माडीमा अवस्थित साविकको अयोध्यापुरी गाविसमा नै रामको जन्म भएको कुरा प्रमाणित गर्न चाहेको थियो । त्यही समूहले अगाडि सारेका केही तर्कहरुलाई नै आधार बनाएर प्रधानमन्त्री ओलीले अहिले यस्तो अभिव्यक्ति दिनु भएको छ ।

पछिल्लो समय भारतबारे उत्तेजक अभिव्यक्ति दिइरहेका प्रधानमन्त्री ओलीले रामायणका नेपाली अनुवादक आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर राम जन्मभूमिबारे चासो व्यक्त गर्नुलाई सम्म सामान्य रुपमा लिइए पनि यो विषयलाई जुन ठाउँमा बसेर ओलीले उठान गर्नु भएको छ । यसलाई प्रमाणित गर्न पनि उहाँको दायित्व बन्न गएको छ । यसलाई प्रमाणित गर्दा के कस्ता जोखिमहरु उठाउन पर्ला भन्ने कुराप्रति प्रधानमन्त्री ओलीको ध्यानार्षकण भने भएको पाइएन ।

प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्ति दिए लगत्तै उत्पन्न तरङ्गलाई साम्य पार्न परराष्ट्र मन्त्रालयले विज्ञप्ती समेत सार्वजनिक गर्नु प¥यो ।

अयोध्या र वाल्मीकि आश्रमको बीचमा करिब ३०० किलोमिटरको दुरी छ । रामायणमा लक्ष्मणले सीतालाई वाल्मिकि आश्रममा छाडेर उही दिन फर्किएको भन्ने उल्लेख छ । लक्ष्मणले त्यतिबेला आउन–जान ६०० किलोमिटरको दुरीमा रहेको वाल्मीकि आश्रममा ल्याएर सीतालाई छाड्न सम्भव नभएको कुरा विज्ञहरु बीच पटक पटक चर्चा भइरहेका पाइन्छ ।

अयोध्यापुरीबाट वाल्मीकि आश्रममा पुग्नका लागि केवल १७ किलोमिटरको दुरी रहेकाले रामको जन्मभूमि नेपालको यही अयोध्यापुरी नै हो भन्ने दावी धर्मविद्हरुले गरिरहेका छन् । प्रधानमन्त्री ओलीले भारतको अयोध्याबाट नेपालको वाल्मिकि आश्रमसम्म सीतालाई पु¥याएर उसै दिन फर्कन सम्भव नभएको तर्क गर्दै रामको जन्मभूमि नेपालमै रहेको दावी गर्नु भएको पाइन्छ ।

रामको जन्मभूमि नेपालमा रहेको दाबी अर्को आधार भनेको रामायणमा लेखिएको अयोध्यापुरीलाई धर्मविद्हरुले व्याख्या गर्दछन् । वाल्मिकीय रामायण अनुसार रामको जन्म अयोध्यापुरीमा भएको थियो । तर, भारतको अयोध्यालाई अयोध्यापुरी नभनेर केवल अयोध्यामात्रै भनिन्छ । त्यसैले यो अयोध्यापुरी नेपालको तत्कालीन अयोध्यापुरी गाविस नै हो भन्ने दावीमा प्रशस्त विश्वसनीय आधारहरु छन् ।

त्यसैगरी सीताको जन्मभूमि जनकपुरदेखि अयोध्यासम्मको दुरीको आधारमा समेत राम जन्मभूमि बारे अनुमान गर्न सकिन्छ । सीता जन्मभूमि जनकपुर र नक्कली अयोध्याबीचको सिधा दुरी पाँच सय किलोमिटरभन्दा धेरै छ । रामायणमा एकै दिनमा रामको विवाहका लागि टोली जनकपुर आइको भन्ने उल्लेख छ । पाँच सय किलोमिटर टाढा रहेको वर्तमान अयोध्याबाट रथमा चढेर एकैदिन जनकपुरसम्म आइपुग्ने कल्पना विश्वसनीय छैन ।

त्यसैगरी विश्वमित्रले कोशी नदी तरेको र राम–लक्ष्मणले धनु विद्या सिकेको प्रसंग पनि रामायणमा उल्लेख भएको र कोशी नदि नेपाली भूभामै रहेकाले पनि रामको जन्मभूमि जनकपुरकै आशपासमा अर्थात नेपाली भूभागमै भएको दावी गर्न सकिन्छ ।

जेसुकै होस् ! प्रधानमन्त्री केपी ओलीले अहिलेको अवस्थामा रामको जन्मस्थलबारे विवाद उठाएर भारतद्धारा अतिक्रमित लिम्पियाधुरा कालापानी र लिपुलेक लगायतका नेपाली भूभाग फिर्ता गराउनका लागि भारतीय समकक्षीहरुलाई सम्बादमा आकर्षित गर्ने खालका अभिव्यक्ति र गतिविधि गर्नु आवश्यकता हो ।

राम जन्मभूमि बारेको विवादले भारतीय सत्तापक्षसँग नेपालको सम्वादको दुरी बढेको छ । यसलाई प्रधानमन्त्री ओलीले कसरी सम्हाल्न सक्नु हुने हो भन्ने महत्वपूर्ण प्रश्न पनि अहिले उठेको छ । राम राजा दशरथका छोरा थिए, उनको जन्मस्थल कहाँ हो भन्ने विषय भन्दा देशको अतिक्रमित भूमि फिर्ता गराउने र अंगीकृत नागरिकता प्रकरणमा देशको हितलाई ध्यानमा राखेर नीति बनाउने काम अहिलेको महत्वपूर्ण थिए । यी काम छोडेर हिन्दू धर्मावलम्बीहरु बीच भगवान्को स्थान बनाएका रामलाई नेपालको छोरो भनेर दावी गर्नुले त्यसबाट नेपाललाई केही लाभ हुन्छ जस्तो मलाई लाग्दैन, त्यसैले समय अनकूल र आवश्यकता अनुसार प्रधानमन्त्री ओलीको अभिव्यक्ति भएन भन्न मन लागेको छ । – जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here