बाँके, १४ साउन: भारतले दशगजामा एकतर्फी बनाएको बाँध कारण बर्सेनी डुबानमा पर्दै आएका महातनियावासी वर्षायाम लागेसँगै बाढीको त्रासमा रातभर जाग्राम बस्न बाध्य छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ महातनिया गाउँवासी राप्ती नदीमा बाढी आएसँगै रातभरि जाग्राम बस्नुपरेको गुनासो गर्छन् ।

खरले छाएका घरहरु कुनै ओभानो छैनन् । हरेकका घरमा पानी जमेका छन् । त्यहीँ पर भारतले नेपाली भूमि च्यापेर बाँधजस्तो सडक बनाएको छ । त्यहीँ सडक प्रयोग गरेर गाउँलेहरु किनमेल गर्न भारत पुग्छन् । तर बर्खामा त्यही सडकको पानी गाउँमा पुगेर डुबानमा पर्छन् । वर्षायाममा “घर कहिले ओभानो हुँदैन । डुबानमै मर्ने भयौँ”, घर वरिपरि भरिएको पानीले आजित बनेका नरैनापुर गाउँपालिका–१ महातनिया गाउँका शङ्कर धोबीले भने , “विकास आयो तर गाउँसम्म पुग्न सकेन ।”

“छत हुने छतमा बस्छन्, ओत नहुने घरमै हुन्छौँ”, सीमावर्ती गाउँ घोरदौरिया–४ का शिव धोबीले भने, “घर छोडेर जङ्गल पस्न पनि समस्या छ ।” जङ्गलमा पनि पानी पस्ने गर्छ । पानी आएपछि घोरदौरियामा ३०० घरमा भेल पस्ने गर्दछ ।

नरैनापुर गाउँपालिका–६ समीम अन्सारीले २०७२-७३ मा बाढी आउँदा तीन दिन घरमा पानी भरियो । पानीको निकास थिएन । तीन दिन भोकै बसेको पीडा सुनाए । उनलाई बाढी आयो भने जङ्गलमा पनि बास नपाइएला भन्ने चिन्ता छ । भएको पाँच कट्ठा जमीन राप्ती नदीमा छेउमा छ । हरेक वर्ष कटानले जमीन लगेपछि उनलाई नौ जनाको परिवारलाई हातमुख जोर्न समस्या हुने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here