जनकपुरधाम, असोज ३ गते । प्रदेश २ का प्रमुख तिलक परियारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र बलिदानले नेपालको संविधान आएको बताएका छन् । सँविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले ज्ञात, अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका हुन् ।

‘जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन र विविध जनवर्गीय आन्दोलनहरूमा नेपाली जनताको लाखौंको सहभागिता, हजारौं बलिदानसहितको त्याग, तपस्या र रगत–पसिना बगाएर मात्र यो सम्भव भएको हो । यसप्रकारको गौरवपूर्ण इतिहासको स्मरण गर्दै सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै, बेपत्ता योद्धा, घाइते–अपाङ्ग र जेल–नेल पीडितहरूलाई उच्च सम्मान व्यक्त गर्दछु,’ सन्देशमा उनले भनेका छन् ।

देशमा विद्यमान विभिन्न वर्ग, जाति, जनजाति, मधेशी, महिला, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका सबैमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ यो राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन प्रेरणा मिलोस् भनी कामना गरेका छन ।

कोरोना भाइरस (कोविड–१९)को महामारीले विश्वलाई नै आक्रान्त बनाएको अवस्थामा यसको रोकथाम र उपचारका लागि रातदिन खट्ने तीनै तहका सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि र समाजसेवी सबैमा उनले धन्यवाद व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here