जनकपुरधाम, असोज ७ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साह कोरोना संक्रमित भएका छन् । नगरप्रमुख साह प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहका छोरासमेत हुन् ।
मेयर साहका सवारी चालकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण विगत ६ महिनादेखि व्याप्त रहे पनि प्रदेश सरकारले संक्रमितको उपचारमा आवश्यक पर्ने भेन्टिलेटर लगायतका उपकरण बन्दोबस्त गर्न नसकेका कारण मन्त्री साहका छोरा एवं नगरप्रमुख शैलेशकुमार साहलाई संघीय राजधानी काठमाडौं रिफर गरिएको छ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा रहेको प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ विशेष अस्पतालमा भेन्टिलेटर नहुँदा साहलाई काठमाडौं लगिएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा मंगलबार गरिएको परीक्षणमा नगर प्रमुख शैलेशकुमार साह र उनका चालकमा कोरोना संक्रमण पुष्टि भएको कोभिड अस्पताल जनकपुरका फोकल पर्सन डा. रामदेव चौधरीले जानकारी दिए ।

हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख साह र राजविराज नगरपालिकाका ३२ वर्षीय सवारी चालकमा कोरोना पोजेटिभ देखिएको उनले बताए ।
नगरप्रमुख साहलाई कोरोनाका कारण निमोनियाको लक्षण देखिएको र भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता देखिएकाले थप उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पताल रेफर गरिएको डा.चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here