Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई प्रश्न- सरकारका एक वर्षे उपलब्धि के-के हुन्?



काठमाडौं, १० पुस ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले एक वर्षको अवधिमा सरकारले गरेका कामहरू र गर्न नसकेका कामहरूको बारेमा आज प्रधानमन्त्रीले प्रष्ट पार्ने बताएका छन् । प्रधानमन्त्रीले आज सरकारमा आउँदाको अवस्था र अहिले एक वर्षको कार्यकालमा गरेका कामको फेहरिस्त प्रस्तुत गर्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै आचार्यले एक वर्षको अवधिमा सुशासन र सामाजिक न्यायको पक्षमा थुप्रै उपलब्धि हासिल गरेको बताए । देश श्रीलङ्का जस्तो बन्दै छ भन्ने भाष्य निर्माण भएको अवस्थाबाट सरकारको नेतृत्व लिएका प्रधानमन्त्री प्रचण्डले देशमा रहेका बेथितिलाई अन्त्य गर्दै भ्रष्टाचारका ठुल–ठुला काण्डहरूका दोषीलाई कारबाही भएको उनको दाबी छ ।

नेपालीहरू नागरिकताविहीन रहेको अवस्थामा नागरिकता विधेयक पास गरेर ७० हजार नागरिकले नागरिकता प्राप्त गरेको बताउँदै उनले मिटर ब्याज पीडितहरूले न्याय पाएको, विमानस्थलबाट हुने सुन तस्करीलाई नियन्त्रण गरेको बताए । सरकारले केही गर्न सकेन भन्नेहरूलाई यी कामहरूले खण्डन गर्ने उनले दाबी गरे। एकैपटक सबै परिणाम नआउने भएकाले बिस्तारै सुधार हुँदै गएको बताए ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...