Logo

जलवायु परिवर्तनको असरले अन्टार्कटिकामा बरफ कम हुन थाल्यो



काठमाण्डौ, १५ फागुन ।। वैज्ञानिकहरूले अन्टार्कटिकामा कहाँ र कहिले बरफ पग्लिन थाल्छ भन्नेबारे पहिलाभन्दा राम्रो र धेरै जानकारी पाउन सकेको बताएका छन् । उनीहरुले बरफको सतहमा ढिक्काको आकार परिवर्तन भएर हिमनदी बन्ने ठाउँमा चिन्ह लाग्ने कुरा पत्ता लगाएको दाबी गरेका छन् ।

आधा शताब्दीअघि बरफ जमेको ठाउँहरू वा चिन्ह भएका ठाँउमा धेरै परिवर्तन भएको पाइएको छ । सन् २००० देखि बरफ पग्लिने गति बढेर एक तिहाइ भन्दा बढी आकार घटेको पाइएको बीबीसीले जनाएको छ । यो अनुसन्धान नेचर नामको जर्नलमा प्रकाशित भएको छ ।

अध्ययनले महाद्वीपबाट बरफ कम हुदै जानुले भविष्यमा विश्वभरको समुद्री सतह बढ्नमा सघाउ पुग्ने कुरामा जोड दिएको छ । यो अध्ययन अन्टार्कटिकाको तटवर्ती क्षेत्रको ७५ प्रतिशतमा रहेको बरफको ढिक्काको आकारमा केन्द्रित रहेको थियो ।

बरफका ती ढिक्का हिमनदीमा तैरिन पर्नेमा अहिले वरपरका महासागरमा धकेलिएका छन् । एडिनबर्ग युनिभर्सिटीको टोलीले गरेको अध्ययनले जलवायु परिवर्तनको असरले गर्दा अन्टार्कटिका महाद्वीपको पश्चिमबाट तातो पानी पस्न थालेको हुँदा बरफका ढिक्का पातलो हुँदै गएको निस्कर्ष निकालेको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...