Logo

राष्ट्रिय परिचयपत्र बनाउन वडा वडामा घुम्ति टोली परिचालन हुँदै, सबैलाई परिचयपत्र बनाउन जिल्ला प्रशासनको अनुरोध ।



ओमप्रकाश यादव, माघ २१ गते, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले राष्ट्रिय परिचयपत्रका लागि जिल्लाको प्रत्येक वडाहरुमा घुम्ति विवरण दर्ता टोली खटाउन लागेको छ ।
जिल्लाको राजदेवी र इशनाथ नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र घुम्ति विवरण दर्ता टोलीको शुरुवात गरिएको र केहि दिन भित्रमा प्रत्येक स्थानीय तहको वडाहरुमा यो टोली परिचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सुचनामा उल्लेख छ ।
अहिलेसम्म जिल्ला प्रशासन कार्यालय गौर र १८ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदै आएको छ । तर अब प्रत्येक वडाहरुमा घुम्ति टोली खटाएर वडाहरुबाट नै राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ ।
पालिकाहरुबाट राष्ट्रिय परिचयपत्र वितरण गर्दा धेरै नागरिक पालिकामा जान नसकेका कारण अझै धेरै व्यक्तिले राष्ट्रिय परिचयपत्र लिन सकेका छैनन् । वडा नजिक पर्ने भएको हुँदा वडामै यो सेवा विस्तार गर्दा राष्ट्रिय परिचयपत्र लिनबाट कोहि बञ्चित नहुने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रौतहटले प्रत्येक वडामा घुम्ति टोली खटाउन लागेको सुचनामा उल्लेख छ ।
वडा वडामा घुम्ति टोली परिचालन भएपछि राष्ट्रिय परिचयपत्र बनाउन आम नागरिकलाई सहज हुने र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको संख्यामा वृद्धि हुने जिल्ला प्रशासन कार्यालयको विश्वास छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले नागरिकता प्राप्त सबै नेपाली नागरिकलाइ राष्ट्रिय परिचयपत्र अनिवार्य लिन आग्रह गरेको छ ।
सरकारका विभिन्न सेवा सुविधा लिन नागरिकता जस्तै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिन लागेकोले सबै नागरिकलाइ पालिका कार्यालय वा वडामा खटिने टोलीमा गएर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासनले आह्वान गरेको छ ।
नेपाल सरकारको बैंक तथा वित्तीय संस्थामा खाता खोल्न तथा ऋण लिन, चल अचल सम्पती खरिद विक्री गर्न, पेन्सन बुझन, सामाजिक सुरक्षा भत्ता लिन, राहत दिन, शेयर खरिद विक्री गर्न, मतदान गर्न, राहदानी लिन, लोक सेवा आयोगको फाराम भर्न, विद्युत, पानी र टेलिकमको सेवा लिन लगाएतका सरकारी तथा निजी क्षेत्रको सेवा सुविधा लिनका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेको जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकीय अधिकृत मणिभुषण शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख रहेको छ ।
सरकारबाट विभिन्न सेवा सुविधा लिनका लागि नेपाली नागरिकता प्रमाणपत्र प्राप्त सबै नागरिकले आ–आफना वडाहरुमा सञ्चालन हुन गइरहेको घुम्ति विवरण दर्ता टोलीमा गई समयमै राष्ट्रिय परिचयपत्र दर्ता गराउन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहले बताएका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...